नेपालगञ्ज: ललितपुरमा केन्द्रिय कार्यालय रहेको संस्था ‘छोरी उदय अभियान, ललितपुर’ (छोरी उदय) ले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै बाँके जिल्लामा शाखा स्थापना गरेको छ। मंगलबार बाँकेको नेपालगञ्जमा भएको एक कार्यक्रममा महिनावारी स्वच्छतासम्बन्धी सचेतना र प्याड वितरणका साथै जिल्ला समिति पनि गठन गरिएको हो।
छोरी उदयको बाँके जिल्ला समितिको अध्यक्षमा स्नेहा शर्मालाई चयन गरिएको छ। समितिको उपाध्यक्षमा शिव कुमार मौर्य, सचिवमा एभ्रिल अधिकारी, कोषाध्यक्षमा दीक्षा छेत्री र सदस्यहरूमा कमल पौडेल, पुष्पा अधिकारी, दिग्विजय सिंह विश्वकर्मा र सङ्गम महत रहेका छन्।
छोरी उदयकी केन्द्रीय उपाध्यक्ष प्रेक्षा केसीको उपस्थितिमा भएको उक्त कार्यक्रमलाई सफल बनाउन नेपालगञ्जका युवा समाजसेवी सौरब शाहले प्याड डोनेट गरी सहयोग गरेका थिए भने नेपाल महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्व उप-कप्तान ममता थापाले उक्त अभियानमा आफ्नो समर्थन जनाएकी थिईन ।
कार्यक्रममा नवगठित जिल्ला समितिका सदस्यहरूले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। छोरी उदयले देशका सबै जिल्लाहरूमा शाखा विस्तार गर्दै स्थानीय स्तरमा विभिन्न तालिम र कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।