महेन्द्रनगर । भीमदत्त नगरपालिका–०३ भासी मालिकार्जुन टोल शोकमा डुबेको छ । बिपिनको निधनको खबरसँगै पुरै गाउँमा शोकको वातावरण छाएको छ ।
तिहारको अवसरमा जहाँ देशभर झिलिमिली बत्ती र उत्सवको रौनक छ । त्यही बेला जोशीको टोलमा भने अन्धकार र शोक छाएको छ ।
टोलका कुनै पनि घरमा झिलिमिली बत्ती बालिएको छैन । न त घरबाहिर दियो मैनबत्ती नै देखिएको छ । स्थानीयवासीका अनुसार जोशीको निधनले केवल उनको परिवार मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ ।
उनका छिमेकी, आफन्त, शुभचिन्तक र स्थानीयबासी यतिबेला उनको शवको प्रतीक्षामा छन् । इजरायल देखि आज नेपाल पुगेको उनको शव नेपाली सेनाले ल्याउँदै छ ।
केही बेरमा बिपिनको शव उनको घरमा पुग्ने सुरक्षा निकायले जानकारी दिएको छ । शव पुग्ने भएपछी उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन उनको घरमा स्थानीयको बाक्लो उपस्तिथि रहेको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन गत २०२३ अक्टुबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।
उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।