लक्ष्मी माबिको नवनिर्मित भवनको मेयर बोगटीले गरे उद्घाटन

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे नयाँ भवनको उद्घाटन नगरप्रमुख पदम बोगटीले शुक्रबार एक समारोहका बीच गरेका छन् ।

संघीय सरकार र भीमदत्त नगरपालिकाको साझेदारीमा निर्माण गरिएको उक्त भवनमा शौचालयसहित चारवटा कक्षाकोठा रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बोगटीले विद्यालयको शैक्षिक गुणस्तर निरन्तर सुधार हुँदै गएको र विद्यार्थीको सङ्ख्या पनि वर्षेनि बढ्दै गएको बताए ।

उनले विद्यालयका बाँकी भौतिक पूर्वाधारका समस्या समेत क्रमिक रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख बोगटीले विद्यार्थीहरू देशका भविष्य भएको उल्लेख गर्दै अनुशासन, श्रम र इमानदारीले नै उज्ज्वल समाज निर्माण गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले शिक्षाको गुणस्तर वृद्धि नगरपालिकाको प्राथमिकता भएको बताउँदै विद्यालय समग्र बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन ।

त्यसैगरी, वडाध्यक्ष जगुराम थारु चौधरीले विद्यालय समुदायको प्रयास प्रशंसनीय रहेको भन्दै विद्यालय आउने जाने बाटोमा रहेको पुल भत्किदा समस्या रहेको र त्यसको समाधानका लागि निरन्तर नगरप्रमुख लगाएत आफुहरु लागिरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले भवन निर्माणपछि विद्यालयको पठनपाठन वातावरण सहज बनेको भन्दै नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गरे ।

यस्तै उनले विद्यालयका थप समस्या समाधानका लागि समेत सहयोग पाउने विश्वास व्यक्त गरे । प्रधानाध्यापक परमानन्द नाथले अतिथिहरुलाई स्वागत गर्दै विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण पहिले समस्या खेप्नुपरेको उल्लेख गर्दै अब नयाँ भवन बनेपछि शिक्षण प्रक्रिया थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अन्य वक्ताले सरकारले गरेको लगानी अनुसार त्यसको प्रतिफल राम्रो पाउन शिक्षकहरुको ठूलो भूमिका हुने भन्दै विद्यार्थीहरुलाई राम्रो शिक्षा, अनुशासन दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा समाचार