भीमदत्त नगरपालिकाका सबै वडामा निःशुल्क आँखा उपचार शिविर

प्रकाशित मिति:
  • उपेश सिंह धामी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १९ वटै वडामा संचालन हुने निशुल्क आँखा उपचार शिविर शरु भएको छ । भीमदत्त नगरपालिकाको सहकार्य, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग तथा पेसवानको आयोजनामा नगरका सबै वडामा निःशुल्क आँखा उपचार शिविर सञ्चालन भएको छ ।

सो कार्यक्रमको औपचारिक शुभारम्भ आज भीमदत्त नगरपालिका–१३ बाट नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा गरिएको छ । कार्यक्रममा नगरप्रमुख बोगटीले प्रत्येक नागरिकसम्म स्वास्थ्य सेवा पहुँच पु¥याउनु नगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गर्दै, आँखा स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि शिविरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले उक्त शिविरबाट लाभ लिन सम्पूर्ण नगरवासीलाई आह्वान समेत गर्नुभयो ।

नगर उपप्रमुख नीलम लेखक जोशीले शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक र विद्यार्थीहरू बढी लाभान्वित हुने बताउनुभयो । यस्तै भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले आँखा उपचार सेवा वडावासीका लागि अत्यन्तै उपयोगी भएको बताउनुभयो । शिविरमार्फत आँखा जाँच, दृष्टि परीक्षण, सामान्य रोगको उपचार, औषधि वितरण तथा आवश्यकता अनुसार निःशुल्क अपरेशनको व्यवस्था समेत गरिएको छ ।

शिविरमा सहभागी सेवाग्राहीहरू सेवाबाट खुशी व्यक्त गर्दै वडामै आएर यति राम्रो सेवा पाउँदा निकै सहज भएको बताउनुभयो । उस्तै उहाँहरुले यस्ता सेवा निरन्तर चलिरहोस् भन्ने चाहना समेत व्यक्त गर्नुभएको छ । आयोजकका अनुसार शिविरहरू क्रमिक रूपमा सबै वडामा सञ्चालन हुँदै जानेछन् र हजारौँ नागरिक लाभान्वित हुने अनुमान गरिएको छ ।

ताजा समाचार