- उपेश सिंह धामी
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले भीमदत्त नगरपालिका–०३ तिलकपुरस्थित श्री नवदुर्गा कालिका आधारभूत विद्यालयमा निर्माण सम्पन्न तीन कोठे नयाँ भवनको उद्घाटन गुर्नुभएको छ ।
बिल्ड अन नेपाल र भीमदत्त नगरपालिकाको साझेदारीमा निर्माण गरिएको उक्त भवनमा शौचालयसहित तीनवटा कक्षाकोठा रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बोगटीले सबैभन्दा ठुलो कुरा भनेको शिक्षा, स्वास्थ्य भएको उल्लेख गर्दै यो विद्यालय क्रमिक रुपमा सुधार भइरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू देशका भविष्य भएको उल्लेख गर्दै अनुशासन, श्रम र इमानदारीताले नै उज्ज्वल समाज निर्माण गर्न सकिने बताउनुभयो ।
यस्तै विद्यालयका अन्य आवश्यकता र समस्याहरु समेत क्रमिक रुपमा समाधान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गनुभयो । कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले तीन कोठे भवन निर्माण सम्पन्न भएपछि अब विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बताउदैँ विद्यालय सुधारका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, वडाध्यक्ष गगन सिंह धामीले बिल्डअन नेपाल, नगरपालिकाको सहयोगमा भवन निर्माण भएकोमा धन्यवाद व्यक्त गर्दै अब विद्यार्थीहरुले थप गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र सुनारले भवन निर्माणपछि विद्यालयको पठनपाठन सहज बनेको भन्दै बिल्ड अन नेपाल र नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । यस्तै उहाँले विद्यालयका थप समस्या समाधानका लागि समेत सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अन्य वक्ताले सरकारले गरेको लगानी अनुसार त्यसको प्रतिफल राम्रो पाउन शिक्षकहरुको ठूलो भूमिका हुने भन्दै विद्यार्थीहरुलाई राम्रो शिक्षा, अनुशासन दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, नगर प्रवक्ता पदमराज अवस्थी, सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


