भीमदत्त नगरमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु, ३ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आयोजनामा बुधवारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट र आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले प्रतियोगिताको उद्वघाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख बोगटीले भीमदत्त नगर खेलकुद प्रतिभा उत्पादन गर्ने उर्वर भूमि भएको उल्लेख गर्नुभयो ।

उहाँले भीमदत्त नगरका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेको उल्लेख गर्दै क्रिकेट, भलिबल र कबड्डी जस्ता खेलका राष्ट्रिय टिममा यहाँका खेलाडीहरूले प्रतिनिधित्व गरिरहेको बताउनुभयो ।

यसले नगरको मात्र नभई सिंगो देशकै नाम उज्यालो बनाएको उहाँको धारणा थियो । नगर प्रमुख बोगटीले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्ने भएकाले विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकतामा राख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले यस्ता खेलकुद प्रतियोगिताले युवाहरुलाई लागुऔषध दुव्र्यसन, हिंसा तथा अन्य गलत क्रियाकलापबाट टाढा राख्दै शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले स्थानीय तहले खेलकुदलाई निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । करिब चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी चार विधाका खेल समावेश गरिएको छ ।

प्रतियोगितामा झण्डै तीन हजारभन्दा बढी खेलाडीहरू सहभागी हुने भीमदत्त नगरपालिका शिक्षा शाखाका अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभयो ।

भीमदत्त नगर खेलकुद विकास समितिका अध्यक्ष शरद चन्दको अध्यक्षता तथा नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, वडा अध्यक्षहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक, खेलाडी, पत्रकार र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा समाचार