महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले आज सम्पन्न भइरहेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
उनले भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले लोकतन्त्र रक्षा र सुदृढीकरणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
“मतदान नागरिकको अधिकार मात्र होइन, दायित्व पनि हो,” उनले भने, “सबै मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।”
नगरप्रमुख बोगटीले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै कुनै पनि भ्रम र अफवाहमा नलागी उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरे ।
मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।


