विद्यार्थीलाई स्वरोजगार बनाउँदै कावासोतीका २३ विद्यालय: राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकद्वारा तालिम

प्रकाशित मिति:

काठमाडौ । नवलपुरको कावासोती नगरपालिकाका २३ वटा विद्यालयले विद्यार्थीहरूलाई आत्मनिर्भर र स्वरोजगारमूलक बनाउने उद्देश्यका साथ एक विशेष अभियान सुरु गरेका छन्। मुख्यमन्त्री नवप्रवर्तन साझेदार कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका १६ वटा माध्यमिक र ७ वटा निम्न माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई उत्पादन र रोजगारसँग जोड्ने प्रयास थालेका हुन्। यस अभियान अन्तर्गत विद्यार्थीहरूलाई सोलार ड्रायर (सौर्य ऊर्जाबाट खानेकुरा सुकाउने प्रविधि) निर्माण, ड्राइफुड तयारी तथा त्यसको बजारीकरण सम्बन्धी व्यावहारिक तालिम दिन थालिएको नगरपालिकाका स्रोत शिक्षक तिर्जराज कंडेलले जानकारी दिनुभयो। विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने यस अभियानमा एक हप्तासम्म आलु तथा केराको चिप्स र करेला एवं आँपको अचार लगायतका सामग्री बनाउने विशेष सीप सिकाउन लागिएको छ।विद्यार्थीहरूलाई विद्यालयमै पुगेर सीप सिकाउन राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकहरू खटिएका छन्, जसले गर्दा यो अभियान अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनेको छ। नगरपालिकाले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा उत्पादन कार्यसँग जोड्ने प्रयास स्वरूप सहभागी प्रत्येक विद्यालयलाई प्रोत्साहन र व्यवस्थापनका लागि एक लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको कँडेलले बताउनुभयो। हालसम्म केही विद्यालयले यो उपयोगी तालिम सम्पन्न गरिसकेका छन् भने केही विद्यालयमा तालिम सञ्चालन भइरहेको छ।

यस कार्यक्रमलाई शिक्षा क्षेत्र र स्थानीय जनप्रतिनिधिहरूले निकै उपयोगी र दूरगामी महत्त्वको योजनाका रूपमा लिएका छन्। कावासोती–१६ डण्डास्थित दीपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक नलराज भुर्तेलले यो कार्यक्रम अत्यन्तै व्यावहारिक भएकाले विद्यार्थीहरूले उत्पादन गरेका सामग्रीहरूको उचित बजारीकरण र बिक्रीवितरणका लागि समेत विद्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै, कावासोती–१६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले यो अभियान सफल भएमा आगामी दिनमा वडा कार्यालयको तर्फबाट पनि यस्ता स्वरोजगारमूलक कार्यक्रमहरूका लागि थप बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको छ। जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले यस्ता व्यावहारिक कार्यक्रमले विद्यार्थीहरूमा नयाँ कुरा सिक्ने र आफैँ केही गर्ने उत्साह जगाउने भएकाले भविष्यमा युवा जमात विदेश पलायन हुने क्रमलाई रोक्न यसले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

ताजा समाचार