कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यहाँस्थित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने ती नगरपालिकाले जनाएका हुन् । भीमदत्त र कृष्णपुर नगरपालिकाले आइतबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् ।
त्यसैगरी, जेठ १४ गते बिहीबार बकर इद तथा १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहनेछ । त्यसपछि १६ र १७ गते दुई दिन शनिबार र आइतबार लगातार बिदा रहनेछ । यससँगै भीमदत्त र कृष्णपुर नगरपालिकाका विद्यालयहरूमा एक साताको सार्वजनिक बिदा हुने भएको हो । कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी बिदाबाट कट्टी हुने गरी तीन दिन स्थानीय बिदा दिइएको बताउनुभयो ।



