झाडीमा खेर जाने ‘तिर्खुलाको जरा’ कसरी बन्यो स्थानीयको कमाइको मुख्य स्रोत?

प्रकाशित मिति:

काठमाडौं । पुस्तौँदेखि जमिनको छेउछाउमा त्यसै खेर गइरहेको ‘तिर्खुलाको जरा’ अहिले बाजुराका स्थानीयका लागि आम्दानीको बलियो माध्यम बन्न थालेको छ। जिल्लाका नौ वटै स्थानीय तहका औल र लेकाली क्षेत्रमा तिर्खुला प्रशस्त मात्रामा पाइन्छ। विगतमा यसको फल खाने र बुट्यानलाई दाउराका रूपमा मात्र प्रयोग गर्ने गरिए पनि पछिल्लो समय जिल्लाबाहिरबाट जराको माग बढेपछि यसको खोजी सुरु भएको हो। विशेष गरी कामको खोजीमा भारतका विभिन्न सहर जाने यहाँका महिलाहरू अचेल घरछेउकै तिर्खुलाको जरा सङ्कलन गरेर ठेकेदारलाई बिक्री गर्न थालेका छन्। उनीहरूका लागि यो जरा अहिले गाउँमै रोजगारीको माध्यम बनेको छ।

बाजुराकी स्थानीय रमिता रोकायाका अनुसार जेठ-असारमा पाक्ने यो फल मिठो हुन्छ र पहिले दाउराका रूपमा मात्र प्रयोग हुन्थ्यो। “पहिले यसको दाउरा खासै बिक्री हुँदैनथ्यो,” रोकायाले भन्नुभयो, “अहिले जराको माग बढेपछि घरखर्च चलाउन र आर्थिक उपार्जन गर्न निकै सहज भएको छ।” वनमा प्रशस्त पाइए पनि निकाल्न नपाइने भएकाले अहिले किसानहरूले आफ्नै निजी जमिन र निजी वनको छेउछाउबाट जरा निकाल्ने गरेका छन्।

औषधीय गुण र बजार

तिर्खुलाको जरा र बोक्रा घाउखटिरा, आँखाको रोग, कमलपित्त (जण्डिस) र ज्वरो निको पार्न औषधिका रूपमा प्रयोग हुने गर्दछ। डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसीका अनुसार किसानले आफ्नो जमिनमा भएको तिर्खुलाको जरा सङ्कलन गरी प्रतिकिलोग्राम ४० रुपैयाँका दरले बिक्री गरिरहेका छन्। यो जरा बाजुराबाट नेपालगन्ज हुँदै भारतसम्म निर्यात हुने गरेको छ। सामुदायिक तथा राष्ट्रिय वनबाट पनि नियमानुसार कर तिरेर यसको जरा निकाल्न सकिने प्रमुख डिसीले बताउनुभयो। वनको संरक्षणलाई ध्यानमा राख्दै ६० देखि ८० प्रतिशत मात्र तिर्खुला निकाल्न पाइने र बाँकी २० प्रतिशत बिउ जोगाउनका लागि राख्नुपर्ने कानुनी व्यवस्था रहेको वन कार्यालयले जनाएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार