काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित बालबालिकाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले गम्भीर आग्रह गरेको छ।
परिषद्ले २०८३ भदौ १५ गते एक आधिकारिक विज्ञप्ति जारी गर्दै उद्धार, राहत, सहयोग तथा अन्य सेवा प्रदान गर्ने क्रममा खिचिएका बालबालिकाका फोटो तथा भिडियोहरू अनधिकृत रूपमा पोस्ट तथा प्रसारण नगर्न सम्बन्धित सबै व्यक्ति तथा संस्थाहरूलाई सचेत गराएको छ।
परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्स (ट्विटर) लगायतका सबै किसिमका सामाजिक सञ्जालमा यस्ता सामग्रीहरू सार्वजनिक गर्दा बालबालिकाको व्यक्तिगत गोपनीयता र उनीहरूको मर्यादामा गम्भीर असर पर्न सक्ने भएकाले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएको छ।
बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गरी उद्धार, राहत वा अन्य कुनै पनि किसिमका सेवा उपलब्ध गराउँदा उनीहरूको व्यक्तिगत गोपनीयता, सम्मान र मर्यादाको पूर्ण संरक्षण गर्नुपर्ने परिषद्को स्पष्ट भनाइ छ। त्यस्ता मानवीय गतिविधिको प्रचारप्रसार वा सार्वजनिक प्रस्तुतीकरणका क्रममा समेत बाल अधिकारसम्बन्धी संवेदनशीलता सधैँ कायम राख्न अपिल गरिएको छ।
आपत्मा परेका पीडित तथा प्रभावित बालबालिकाका फोटो तथा भिडियोहरू कुनै पनि माध्यमबाट न त आफैँले सार्वजनिक गर्न पाइनेछ, न त अन्यमार्फत गराउन नै। यस विषयमा सबै व्यक्ति तथा सरोकारवाला संस्थाहरूलाई गम्भीर बन्न परिषद्ले जोडदार अपिल गरेको छ।
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपिल
प्रकाशित मिति:




