काठमाडौं । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा तापक्रम असामान्य रूपमा बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नागरिकका नाममा कडा चेतावनी जारी गर्नुभएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन संयन्त्रका अनुसार बुधबार विश्वका ४५ सबैभन्दा तातो सहरहरूमध्ये अधिकांश भारतमै परेका छन्, जहाँको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ। प्रधानमन्त्री मोदीले गर्मीको यो कडा लहरलाई हल्का रूपमा नलिन आग्रह गर्दै अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी हुने, रगत गाढा बन्ने र अङ्गहरू फेल हुनेसम्मको ज्यान जाने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन अपिल गर्नुभएको हो।
अहिले भारतका विभिन्न राज्यमा अनपेक्षित गर्मीका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा अत्यधिक गर्मी र लूका कारण १६ जनाको मृत्यु भइसकेको छ भने उत्तर प्रदेशको बान्दा सहरमा तापक्रम ४७.४ डिग्री सेल्सियससम्म पुगेको छ। राजधानी नयाँदिल्लीमा समेत तापक्रम ४० डिग्री सेल्सियस रेकर्ड गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो अत्यधिक गर्मीका कारण देशका नदीहरू तीव्र रूपमा सुक्दै गएका छन् भने भूमिगत जलस्तर घट्दा खानेपानीको गम्भीर संकट चुलिएको छ।
बढ्दो तापमानसँगै भारतमा वन डढेलोको अर्को ठूलो संकट थपिएको छ। हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको भीषण डढेलो नियन्त्रण गर्न भारतीय सेना र वायु सेनाका हेलिकप्टरहरू १६ घण्टाभन्दा बढी समयदेखि निरन्तर संघर्षरत छन्।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पहिलेको तुलनामा उष्ण लहर (गर्मीको लहर) लामो, बारम्बार र बढी तीव्र हुँदै गएको छ। दिनभरिको प्रचण्ड गर्मी मात्र नभई रातको समयमा समेत तापक्रम नघट्दा सर्वसाधारणले राहत पाउन सकेका छैनन्। यस प्रकोपबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा र खुला आकाशमुनि काम गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। सन् २०१६ मा राजस्थानको फलोदीमा रेकर्ड गरिएको इतिहासकै उच्च ५१ डिग्री सेल्सियसको विन्दुतिर देश पुनः उन्मुख हुन थालेको भन्दै स्वास्थ्य र वातावरणीय क्षेत्रका विज्ञहरूले उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।



