धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएका दुई वटा विधेयकको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल सुरु भएको छ। प्रदेश सभाको बुधबार बसेको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफल गरिएको हो। सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयकहरूमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो।
छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य विक्रमसिंह धामी र खुसीराम डङ्गौरा थारूले थारु समुदायको परम्परागत बडघर र भलमनसा प्रथाले समाजलाई एकताबद्ध बनाउनुका साथै विवाद मेलमिलापमा समेत भूमिका खेल्दै आएकाले यसलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरू शिवसिंह ओली र मधुदेवी भारतीले प्रदेशमा प्राविधिक शिक्षाको विकासका लागि यो विधेयक महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। सांसद ओलीले यसअघि गठित कार्यदलको प्रतिवेदन अनुसार विश्वविद्यालयमा ८५ प्रतिशत प्राविधिक र १५ प्रतिशत साधारण पढाइ हुने गरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।



