नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदै

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि राजधानी काठमाडौँमा सुरु हुँदै छ। खुलामञ्चमा दिउँसो २:०० बजे भव्य समारोहका बीच महाधिवेशन उद्घाटन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ।

पार्टी केन्द्रीय प्रवक्ता देवराज चालिसेका अनुसार स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुग्ने क्रम जारी छ। प्रतिनिधिहरूको दर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ भने प्रतिव्यक्ति दर्ता शुल्क रु ३,५०० तोकिएको छ। आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको छ भने प्रतिनिधिहरूलाई प्रविधिमैत्री माध्यमबाट आवाससम्बन्धी विवरण उपलब्ध गराइएको छ।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्नो प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। प्रतिवेदनमाथि भूगोलका आधारमा तीन फरक हलमा छलफल गराइनेछ भने डिजिटल बोर्डमार्फत प्रतिवेदन हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको छ। निर्वाचन समितिले असोज १९ गते दिउँसो २:०० देखि साँझ ६:०० बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तय गरेको छ।

विसं २००३ साल कात्तिक १५ गते भारतको बनारसमा स्थापना भएको कांग्रेसले सात दशकभन्दा लामो सांगठनिक यात्रा पार गरिसकेको छ। टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर जबरा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा तथा विशेष महाधिवेशनबाट गगनकुमार थापाले पार्टीको नेतृत्व सम्हालिसकेका छन्।

ताजा समाचार