दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित पहिरो प्रभावित परिवारका लागि सुरक्षित स्थानमा टेन्टका अस्थायी घर निर्माण गरी स्थानान्तरण गरिएको छ। वर्षाका कारण जमिन निरन्तर भासिएपछि मडगाउँका खर्क, पन्ताली र गुम्पानी बस्तीका बासिन्दा पूर्ण रूपमा विस्थापित भएका थिए।
बस्ती विस्थापित भएपछि सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको विपद् शाखा, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा १२ परिवारका लागि टेन्टका घर निर्माण गरी तत्कालका लागि बसोबासको प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिएका छन्। पहिरो प्रभावित बस्ती नजिकै रहेको सुरक्षित डाँडामा उनीहरूलाई सारिएको हो।
गाउँपालिका अध्यक्ष धामीका अनुसार भूस्खलन र जमिन धसिने समस्याका कारण मडगाउँका कुल २५ परिवार प्रभावित भएका छन् भने खर्क बस्तीका मात्रै १८ वटा घर पूर्ण रूपमा भत्किएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्कालका लागि ४० थान टेन्ट र ६० थान कम्बल उपलब्ध गराएको थियो।
अध्यक्ष धामीले मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै जमिन भासिएको क्षेत्रमा तत्काल प्राविधिक तथा भौगर्भिक अध्ययन गराउन, क्षतिको विस्तृत मूल्याङ्कन गरी दीर्घकालीन सुरक्षित पुनस्र्थापनाको व्यवस्था गर्न र बस्ती संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलका अनुसार तत्काल जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सारिसकिएको छ भने प्रभावित नागरिकलाई थप राहत र स्थायी आवास प्रबन्धका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पत्राचार गरिएको छ।




