कांग्रेस पूर्वसभापति देउवा डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन

प्रकाशित मिति:

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। वडा सभापति पदम महताका अनुसार काठमाडौँमै रहेका पूर्वसभापति देउवाले स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएर उम्मेदवारी मनोनयन गराएका थिए।

सोही वडाबाट देउवाका स्वकीय सचिव भानु देउवा पनि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। उनले पनि वारेसनामामार्फत नै उम्मेदवारी दर्ता गराएका थिए। यसअघिका महाधिवेशनहरूमा समेत देउवा आफ्नै गृह वडाबाट प्रारम्भिक तहको क्षेत्रीय प्रतिनिधि चुनिँदै महाधिवेशन प्रतिनिधि बन्ने प्रक्रियामा सामेल हुँदै आएका थिए।

पार्टीको तल्लो तहबाट महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसभित्र १५औँ महाधिवेशनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।

ताजा समाचार