कैलालीको गौरीगंगामा च्याउ टिप्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु

प्रकाशित मिति:

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकास्थित सामुदायिक वनमा बिहीबार बिहान बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा निवासी करिब ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। वडा नम्बर ६ कै मोयास्थित भैरव महिला सामुदायिक वनमा बिहान करिब ५ः०० बजे च्याउ खोज्न गएका बेला चौधरीमाथि पाटेबाघले एक्कासि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे बिहान करिब ८ः०५ बजे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा चार सदस्यीय सुरक्षा टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल चौमाला बजारबाट करिब १३ किलोमिटर पश्चिम–दक्षिणतर्फको वन क्षेत्रमा पर्दछ।

घटनापछि त्यस आसपासका बस्तीहरूमा त्रास फैलिएको छ। वन क्षेत्रमा वन्यजन्तुको जोखिम कायमै रहेकाले तत्काल जङ्गलभित्र नजान र विशेष सतर्कता अपनाउन स्थानीय प्रशासन तथा प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

ताजा समाचार