कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

प्रकाशित मिति:

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ निवासी सुमन खत्री रहेका छन्। उनको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु प्र ०३–००१ ख ००९९ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोरङको कानेपोखरी गाउँपालिका–२ ठेगाना भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

ताजा समाचार