दार्चुला । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतको उत्तराखण्ड राज्यस्थित तपोवन, धारचुला (पिथौरागढ) मा सञ्चालित एनएचपिसी लिमिटेडको धौलीगंगा पावर स्टेसनको बाँधमा जम्मा भएको सिल्ट (बालुवा तथा माटो) सफाइका लागि ढोकाहरू खोल्न लागिएको भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको हो। भारतीय पक्षबाट प्राप्त आधिकारिक पत्रअनुसार आगामी असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म गरी करिब ४८ घण्टा बाँधका ढोका खुला रहनेछन्।
बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। ढोका बन्द गरिसकेपछि पनि केही समयसम्म नदीको बहाव उच्च रहने भएकाले जोखिम कायमै रहने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। प्रशासनले नदी किनारमा नुहाउन, कपडा धुन, माछा मार्न, गिट्टी–बालुवा निकाल्न तथा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।




