कञ्चनपुर । कञ्चनपुर कारागारको सुरक्षा घेरा तोडेर फरार भएका दुई कैदीलाई प्रहरीले झन्डै नौ महिना लामो खोजीपछि पुनः पक्राउ गरेको छ। विभिन्न आपराधिक मुद्दामा जेल सजाय काटिरहेकै अवस्थामा उनीहरू २०८२ साल भदौ २४ गते कारागार प्रशासनको आँखा छलेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२, बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरका अर्जुन खड्का रहेका छन्।
समातिएका मध्ये चौधरी जबरजस्ती करणीको गम्भीर मुद्दामा १८ वर्षको लामो जेल सजाय काटिरहेका कैदी हुन् भने खड्का लागुऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा ५ वर्ष कैद र रु ५,००० जरिवानाको सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। कारागारबाट भागे लगतै प्रहरीले उनीहरूको खोजीका लागि विशेष अपरेसन चलाएको थियो र लामो समयको कडा निगरानीपछि अन्ततः दुवै जनालाई कानुनको फन्दामा पार्न प्रहरी सफल भएको छ।



