सुदूरपश्चिम विश्वविद्यालयको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित, डिन कार्यालयमा तालाबन्दी

प्रकाशित मिति:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजहरूलाई शैक्षिक कार्यक्रम र विद्यार्थी संख्या (कोटा) थप गर्ने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। आंगिक क्याम्पस बनाउने पूर्वनिर्णय लत्याएर निजी कलेजलाई प्राथमिकता दिँदा सरकारी क्याम्पस धराशायी हुने भन्दै विद्यार्थी आक्रोशित भएका हुन्।

आन्दोलित विद्यार्थीले बुधबार विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्दको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। केन्द्रीय क्याम्पसको सीएसआइटी संकाय सुधार्नुको सट्टा निजी कलेज पोस्ने काम भएको उनीहरूको आरोप छ। विश्वविद्यालयले गत जेठ २६ गते सम्बन्धन प्राप्त कलेजहरूमा चालु शैक्षिक सत्रका लागि बीएस्सी, सीएसआइटी र बीबीए कार्यक्रममा विद्यार्थी कोटा बढाउने निर्णय गरेको थियो। कञ्चनपुरका भानु, महाकाली र बैजनाथ क्याम्पसलाई आंगिक बनाउने निर्णयलाई बेवास्ता गरिएको भन्दै नेतृत्वको आलोचना भइरहेको छ।

यसैबीच, सीएसआइटी संकाय प्रमुख कर्णदेव भट्टले कार्यविधिविपरीत निजी कलेजलाई कोटा थप्न आर्थिक चलखेल भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन्। तर, विज्ञान संकायका डिन भवानी चन्द र व्यवस्थापन संकायका डिन केशवराज भट्टले आरोपको खण्डन गर्दै विश्वविद्यालयको निर्देशन र विज्ञ टोलीको स्थलगत अध्ययनका आधारमा मात्रै प्रतिवेदन बुझाइने स्पष्ट पारेका छन्। विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले पनि आर्थिक चलखेल र निजी कलेजमा आफन्तलाई जागिर दिएको आरोप निराधार रहेको दाबी गरे। उनले नयाँ कार्यक्रम नदिइएको र विश्वविद्यालयको आन्तरिक स्रोत वृद्धिका लागि मात्रै पुरानै कलेजहरूको मागअनुसार कोटा थप गर्ने निर्णय गरिएको बताए।

ताजा समाचार