कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सवारी साधन व्यवस्थापनका लागि ठूलो रकम खर्चने भएको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटअनुसार सवारी साधन खरिद, इन्धन, मर्मत तथा भाडा शीर्षकमा मात्रै कुल ५७ करोड ६९ लाख रुपैयाँभन्दा बढी विनियोजन गरिएको छ।
मन्त्रालय तथा मातहतका कार्यालयका लागि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन खरिद गर्न सबैभन्दा बढी ३४ करोड ७७ लाख ६३ हजार रुपैयाँ छुट्याइएको छ। यस्तै, इन्धनका लागि १३ करोड ३ लाख र मर्मतका लागि ८ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने गाडी भाडाका लागि १ करोड ५५ लाख रुपैयाँ खर्च गरिने बजेट वक्तव्यमा उल्लेख छ। गत आर्थिक वर्ष २०८२/८३ मा ८ करोड ५४ लाख र आव २०८१/८२ मा ५ करोड ८८ लाख रुपैयाँ बराबरका सवारी साधन खरिद गरेको प्रदेश सरकारले यस वर्ष गाडी खर्चमा ठूलो रकम बढाएको हो।



