काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका शाहको सरकारले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार पारेको चौमासिक प्रतिवेदन सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रतिवेदन चौमासिक भए पनि यसमा गत वैशाख, जेठ र असार गरी तीन महिनामा भएका कामकारबाहीको विवरण समावेश छ। जसमा कार्यालयको स्वरूप र प्रकृति, काम, कर्तव्य र अधिकारका साथै कार्यरत कर्मचारीको विवरण र प्रधानमन्त्री कार्यालयले सम्पादन गरेका मुख्य कामहरूको विस्तृत विवरण राखिएको छ।
प्रतिवेदनअनुसार २०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएका छन्। यसैगरी मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठकबाट १२ वटा निर्णयहरू भएका छन्।
यस अवधिमा नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। साथै ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालनका लागि आवश्यक मार्गदर्शन सबै मन्त्रालय, निकाय, आयोग तथा स्थानीय तहहरूमा पत्राचार गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको विवरणमा उल्लेख छ।




