काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर निष्पक्ष रूपमा महाधिवेशन सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने उनले स्पष्ट पारेका हुन्।
केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति आफ्नो पूर्ण सम्मान रहेको उल्लेख गरे। उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन जुनसुकै कदम चाल्न पनि आफू तयार रहेको बताएका छन्।
बैठकमा बोल्दै थापाले भने, “म एउटा कुरा प्रष्ट पार्छु— तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। यो पार्टीमा चार पुस्ताको सहभागिता छ, त्यसैले सबैलाई समेटेर अगाडि बढ्नुछ।”
साथै, गत निर्वाचनमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता तथा कार्यकर्ताहरूले रूख चिन्हमा मतदान नगरेको विषयलाई आफूले गम्भीरतापूर्वक ध्यानमा राखेको पनि सभापति थापाले बताएका छन्।




