विशेष महाधिवेशनपछि कांग्रेस सुदृढीकरणको बाटोमा: उपसभापति शर्मा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवाद, संविधान, कानुन र पार्टी विधानका आधारमा समाधान हुने विश्वास व्यक्त गरे।

बैठकमा उनले भने, “सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिरहेका छन्। देशभरिका साथीहरूले व्यक्त गरेको दृढता र भावनाको जगमा आगामी दिनमा विकास भएर जाने सङ्कल्प अझ बलियो भएर जान्छ।”

सर्वोच्च अदालतले वैशाख ४ गते निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको उनले बताए। फैसला आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गरेको र जेठ १६ गते पार्टी एकताका लागि सात बुँदे प्रस्ताव लिखित रूपमा पेस गरिएको उनले जानकारी दिए।

सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको दाबी गर्दै उनले भेला सकिएपछि संवाद गरिने र पार्टी सबैको हो भन्ने कुरा सबैले आत्मसाथ गर्ने विश्वास व्यक्त गरे।

ताजा समाचार