काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक हवाई यात्राका क्रममा विमानस्थलमा हुने कडा सुरक्षा जाँचप्रति आपत्ति व्यक्त गरेका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूमाथि ‘अपराधी’ सरह व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाए।
भद्रपुर र काठमाडौँ विमानस्थलमा भएका पटक-पटकका सुरक्षा जाँचको प्रसङ्ग उठाउँदै उनले मेटल डिटेक्टर र शारीरिक तलासीको औचित्यमाथि प्रश्न उठाए। ओलीका अनुसार एउटै विमानस्थलमा धेरै ठाउँमा मेटल डिटेक्टर बजाउने र पटक-पटक शरीर छाम्ने कार्य अनावश्यक र झन्झटिलो छ।
“म न गाँजा-रक्सी खान्छु, न त म लागूपदार्थ सेवनकर्ता वा सुन तस्कर नै हुँ,” ओलीले भने, “सीमाबाट ट्रकका ट्रक तस्करी भइरहँदा नियन्त्रण नगर्ने, तर विमानस्थलमा भने मेरो शरीरमा के खोज्न यस्तो तमासा गरिएको हो?”
अध्यक्ष ओलीले विमानस्थलको सुरक्षा जाँचप्रति यसरी सार्वजनिक रूपमा असन्तुष्टि जनाएको यो दोस्रो पटक हो। यसअघि गत माघ महिनामा पनि उनले विमानस्थलमा आफूलाई सुन तस्कर जस्तै व्यवहार गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।




