काठमाडौं । ग्यास बिक्रेता महासङ्घले बजारमा लामो समयदेखि जारी खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम र वाणिज्य मन्त्रालय समस्या समाधान छाडेर प्रचारबाजीमा मात्रै सीमित भएको दाबी गरेको छ।
महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार विगत चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएकाले बजारमा सङ्कट उत्पन्न भएको हो। हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर भए पनि नयाँ सिलिन्डर बिक्री नरोकिँदा समस्या थप जटिल बन्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।
वितरण प्रणालीलाई पन्छाएर उद्योग र विभिन्न बिक्री केन्द्रहरूबाट सीधै ग्यास बिक्री गरिएकाले अभाव बढेको महासङ्घको ठहर छ। साथै अनुगमनका नाममा खुद्रा बिक्रेताहरूलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै महासङ्घले डिलरमार्फत मात्रै व्यवस्थित बिक्री वितरणको माग गरेको छ।




