अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । अनलाइन तथा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेका व्यापारिक गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले कडा कदम चालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना प्रकाशित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल, विभिन्न एप वा वेबसाइटमार्फत ई-कमर्स व्यवसाय गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ। कानुन बमोजिम सूचीकृत नभई कारोबार सञ्चालन गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ।

विभागका अनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालको ‘मार्केटप्लेस’ प्रयोग गरी वस्तु वा सेवाको खरिद-बिक्री गर्ने सबै व्यवसायीहरू ‘ई-कमर्स’ को दायराभित्र पर्दछन्। यस व्यवस्थाअनुसार वस्तु बिक्री गर्ने व्यवसायीका साथै विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, बैंकिङ, बिमा, कानुनी तथा इन्जिनियरिङ जस्ता विभिन्न सेवा प्रदायकहरू समेत अनिवार्य रूपमा सूचीकृत हुनुपर्नेछ।

पछिल्लो समय डिजिटल भुक्तानी र अनलाइन कारोबारका क्रममा उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री-वितरण गर्ने गुनासाहरू तीव्र रूपमा बढेकाले यो कदम चालिएको हो। विभागले सूचनाको बेवास्ता गरी गैर-कानुनी रूपमा सञ्चालित प्लेटफर्महरूमाथि ई-कमर्स ऐन, २०८१ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। साथै, उपभोक्ताहरूलाई पनि ठगीबाट बच्नका लागि सूचीकृत भएका आधिकारिक पोर्टलहरूबाट मात्र वस्तु वा सेवा खरिद गर्न आग्रह गरिएको छ।

ताजा समाचार