कञ्चनपुरमा साढे २३ लाख बढीका भन्सार छली सामानसहित पाँच जना पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । भारतबाट अवैधानिक रूपमा भन्सार छलेर ल्याइएका २३ लाख आठ हजार सात सय ९६ रुपैयाँ बराबरका विभिन्न सामग्रीसहित कञ्चनपुर प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी पोस्ट मझगाउँको टोलीले सोमबार (भदौ ८ गते) भीमदत्त नगरपालिका–१८ मझगाउँबाट नौ लाख १२ हजार ५९६ रुपैयाँ बराबरका पाँच थान iPhone मोबाइल र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। दोधरा चाँदनीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से ३ प ६३०७ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक दोधरा चाँदनी नगरपालिका–४ का ३७ वर्षीय पदम सिंह ठगुन्ना र पछाडि सवार सोही ठाउँका २६ वर्षीय गौतम जोशी पक्राउ परेका हुन्। उनीहरूको साथबाट १ थान iPhone-15, १ थान iPhone-16 र ३ थान iPhone-17 गरी जम्मा ५ थान मोबाइल फेला परेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट भन्सार छली ल्याइएका सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका–४ का २० वर्षीय कैलाश जोशी, भारत लखिमपुर कमलापुरका ३२ वर्षीय शिवानन्द शर्मा र सोही ठाउँका ३० वर्षीय वाहिद अली रहेका छन्।

उनीहरूको कब्जाबाट १३ लाख ९६ हजार २०० रुपैयाँ बराबरको २७ बोरा खर्बुजाको बिउ (वाटरमेलन सिड्स), चिनी र साइकल बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको सह-प्रवक्ता प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाले जानकारी दिनुभयो।

ताजा समाचार