काठमाडौं । रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका सल्यान बागचौर नगरपालिका–१० पिपलनेटाका २१ वर्षीय आयुष खड्काको चितवन र तनहुँको सङ्गमस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ।
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पदस्थापना भएका खड्काले सेवा प्रवेश गरेको पाँच महिनामै ज्यान गुमाएका हुन्। भदौ १० गते बिहान आएको बाढीमा परेका उनको शव भेटिएको पाँच दिनपछि सोमबार देवघाटमा अन्तिम संस्कार गरिएको हो। शव बिग्रने अवस्थामा पुगेकाले घरसम्म लैजान सम्भव नभएपछि देवघाटमै अन्त्येष्टि गरिएको उनका काका रमेश खड्काले जानकारी दिएका छन्।
स्नातक तहको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा रहेका खड्का भदौ १२ गते काठमाडौँ हुँदै भदौ १६ गते सल्यान पुग्ने योजनामा थिए। खड्का परिवारका जेठा छोरा आयुषका बुवा, आमा र एक बहिनी छन्। उनको अन्त्येष्टिका क्रममा परिवारका सदस्य तथा आफन्तजन शोकमा डुबेका छन्।




