काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पछिल्लो बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात परेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले विपद्को यस कठिन घडीमा मन भक्कानिए पनि एकआपसमा बिलौना गरेर बस्ने समय नरहेको उल्लेख गर्नुभयो।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले आफ्ना मान्छे अझै फेला नपरेर प्रतीक्षामा रहेका नागरिकहरूको पीडा आफूले गहिरोसँग महसुस गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन र मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन।”
सङ्कटको यस अवस्थामा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने धारणा राख्दै उहाँले दृढ सङ्कल्प र साहसका साथ विपत्तिका विरुद्ध लड्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो। साथै, घटनालगत्तै सरकारले नागरिकको जीवन रक्षा, खोजी तथा उद्धारका लागि गरिरहेका प्रयासबारे उहाँले सदनलाई विस्तृत जानकारी गराउनुभयो।




