काठमाडौं । रसुवाको बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मार्फत प्रभावितहरूका लागि आर्थिक स्रोत परिचालन गरिरहेको र सहयोग आउने क्रम निरन्तर जारी रहेको जानकारी दिनुभएको छ।
प्रधानमन्त्रीका अनुसार राहत कोषमा बुधबारसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ तथा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ। सङ्कलित रकममध्ये मङ्गलबार मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपियाँ निकासा गरिएको उहाँले बताउनुभयो।
सोही रकमबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहका लागि छ करोड ७५ लाख रुपियाँ निकासा भइसकेको छ। एक अर्ब निकासापछि हाल राहत कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ मौज्दात रहेको छ।




