भोटेकोशी बाढी: १ हजार २५२ शव फेला, ४ हजार ८७५ बेपत्ता, ७ हजार बढी प्रहरी परिचालन

प्रकाशित मिति:

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार २५२ वटा शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवहरूमध्ये ४१६ पुरुष, २४८ महिला, ४४ बालिका, ३४ बालक, ४२८ आंशिक अङ्ग र ८२ वटा पहिचान नखुलेका शव रहेका छन्। फेला परेकामध्ये ८९७ वटा शवको व्यवस्थापन (अन्तिम संस्कार) गरिसकिएको छ भने पहिचान नखुलेका ९५९ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।

बाढीमा परी हालसम्म ४ हजार ८७५ जना बेपत्ता रहेको सूचीकृत गरिएको छ। जसमा स्वदेशी नागरिकतर्फ २ हजार ४४४ पुरुष, ४८० महिला गरी कुल २ हजार ९२४ जना र फोनमार्फत १ हजार ३५० जनाको विवरण आएको छ। यस्तै ६०१ जना विदेशी नागरिक पनि बेपत्ता सूचीमा छन्। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट ७ हजार ९१२ जना सुरक्षाकर्मी परिचालित छन् भने प्रहरीतर्फ ६५ जना प्रभावित र २५ जना अझै सम्पर्कविहीन रहेका छन्।

उद्धार तथा उपचारतर्फ ४ हजार ९९५ पुरुष, २ हजार ४४० महिला र ४५ नखुलेकासहित ७ हजार ४८० जनाको उद्धार तथा उपचार गरिएको छ। जसमा ७६० जना विदेशीसमेत रहेका छन्। यस्तै ३ हजार १२६ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। पहिचानका लागि १ हजार १४३ मृतक र ५९१ मृतकका आफन्त गरी कुल १ हजार ७३४ वटा डीएनए नमुना सङ्कलन गरिएको नेपाल प्रहरीले जनाएको छ।

ताजा समाचार