काठमाडौं । नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीले यसको असर सीमापार भारतसम्म पुग्ने जोखिमलाई पुन: सतहमा ल्याइदिएको छ। हिमालयबाट उत्पत्ति हुने नदीहरू नेपाल र भारत दुवै देश भएर बग्ने भएकाले नेपालमा हुने बाढीको असर भारतमा पर्ने गरे पनि यो केवल ‘माथिबाट तल पानी बग्ने’ सामान्य विषय नभएको विज्ञहरूले स्पष्ट पारेका छन्।
भारतीय प्रविधि संस्थान (आईआईटी) कानपुरका प्राध्यापक डा. राजीव सिन्हा र इकिमोडका जलविज्ञहरूका अनुसार नेपालले भारततर्फ ‘पानी छाडेको’ भन्ने धारणा वैज्ञानिक रूपमा गलत हो। नेपालमा भारततर्फ पानी छाड्न सक्ने ठूला जलाशयहरू छैनन् भने कोसी र गण्डकका ब्यारेज भारत स्वयंले सञ्चालन गर्छ। गंगा नदीको औसत वार्षिक बहावमा नेपालले करिब ४० प्रतिशत योगदान गर्ने भए पनि भारतीय भूभागमा हुने क्षति त्यहाँको वर्षा, तटबन्धको अवस्था र निकास प्रणालीमा निर्भर हुन्छ। सन् २००८ को कोसी विपद्मा पनि पानी नदीको वहन क्षमताभन्दा १० प्रतिशत मात्र बढी भए पनि मर्मत नभएको कमजोर तटबन्ध भत्किँदा ठूलो क्षति पुगेको विज्ञहरूको ठहर छ।
नेपालका ६ हजारभन्दा बढी नदीनालामध्ये कोसी, गण्डकी, कर्णाली र महाकाली प्रमुख हुन्। यी नदीहरूका कारण विशेष गरी भारतको बिहार राज्य र उत्तर प्रदेशका सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहने गर्छन्। सामान्य अवस्थामा भारतले १२ घण्टादेखि दुई दिनअघि बाढीको पूर्वसूचना पाउने भए पनि चुरे तथा पहिरोका कारण आउने आकस्मिक बाढी केही घण्टामै सीमापार पुग्ने गर्छ। पछिल्लो रसुवा बाढीको उच्च बहाव पनि सीमावर्ती त्रिवेणीसम्म साढे सात घण्टामै पुगेको थियो।
विज्ञहरूका अनुसार भारतका लागि वास्तविक चिन्ता नदीको सामान्य पानी नभई जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर ढुङ्गा, माटो र लेदो मिसिएर आउने ‘गेग्रानयुक्त बाढी’ (Debris flow) हो। यस्ता बाढीले नदीको सतह उठाई दुवै देशमा ठूलो विपद् निम्त्याउने भएकाले साझा पूर्वसूचना प्रणाली र सहकार्य अनिवार्य रहेको औँल्याइएको छ।




