रसुवा बाढी: मृतक सङ्ख्या १ हजार ३६७ पुग्यो, ८२ सुरक्षाकर्मीसहित ५ हजार १३२ अझै बेपत्ता

प्रकाशित मिति:

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हराइरहेका ५ हजार १३२ जना अझै सम्पर्कविहीन छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ। जसअन्तर्गत चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका हुन्। फेला परेका शवमध्ये हालसम्म १०२ वटाको सनाखत भई आफन्तले बुझिसकेका छन्।

सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ गरी ८२ जना सुरक्षाकर्मी तथा ७३ जना सरकारी कर्मचारी रहेका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी र ५८९ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

विपद्‌पछि सञ्चालित खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनालाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। बाढीमा परी घाइते भएका तथा प्रभावित ७ हजार १५१ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ।

सुरक्षा फौज, स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायहरू बेपत्ताको खोजी, घाइतेको उपचार र राहत वितरणमा निरन्तर सक्रिय रहेका छन्।

ताजा समाचार