काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न नौ वटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपियाँ जम्मा भएको हो।
यसैगरी, कोषअन्तर्गत अन्य दुई बैंकमा खोलिएका विदेशी मुद्रा (डलर) खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर सङ्कलन भएको छ।
सङ्कलित रकमबाट विपद् व्यवस्थापन र राहत वितरणको काम पनि सुरु गरिएको छ। कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूलाई राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपियाँ निकासा गरिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।




