सेती प्रादेशिक अस्पतालमा डायलायसिस सेवामा अत्यधिक चाप, नयाँ बिरामीलाई पालो पाउन सास्ती

प्रकाशित मिति:

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलायसिस सेवामा अत्यधिक चाप बढेको छ। नियमित बिरामीको सङ्ख्या बढ्दै जाँदा नयाँ आउने बिरामीले डायलायसिसका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता कायमै छ।

अस्पतालमा हाल २१ शय्या (बेड) मार्फत नियमित रूपमा २०५ जना मिर्गौला रोगीले सेवा लिइरहेका छन्। नयाँ आउने १५ देखि २० जना बिरामी भने सेवा पाउन पालो पर्खिरहेका छन्। डायलायसिस फाँटका इन्चार्ज शेरबहादुर महतराका अनुसार एक जना बिरामीको डायलायसिस गर्न करिब चार घण्टा समय लाग्ने भएकाले बिहान ५ बजेदेखि राति १० बजेसम्म तीन सिफ्टमा दैनिक करिब ६० जनालाई सेवा दिइँदै आएको छ। आकस्मिक अवस्थाका बिरामीलाई भने २४ सै घण्टा सेवा प्रवाह भइरहेको छ।

प्रदेशभरका बिरामीको चाप यही अस्पतालमा पर्ने भएकाले सीमित स्रोतसाधनबाट सेवा धान्न कठिन भएको छ। अस्पतालले २०७९ असारदेखि आफ्नै व्यवस्थापनमा सेवा सुरु गरेयता ७४० विपन्न बिरामीले सेवा लिइसकेका छन्। हेपाटाइटिस तथा एचआईभी सङ्क्रमित बिरामीलाई समेत सेवा दिनुपर्ने अवस्था रहेकाले थप डायलायसिस मेसिन, दक्ष जनशक्ति, पर्याप्त भौतिक संरचना र प्रदेशका अन्य जिल्ला अस्पतालमा समेत सेवा विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ।

ताजा समाचार