काठमाडौँ। प्रत्येक वर्ष असोज १ गते मनाइने वास्तु तथा शिल्पकलाका देवता भगवान् विश्वकर्माको पूजाआराधना आज देशभर विभिन्न यन्त्र, उपकरण, प्रविधि तथा सवारीसाधनको पूजा गरी भव्य रूपमा मनाइँदै छ। समुद्र मन्थनबाट उत्पत्ति भएका मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको धार्मिक विश्वासका आधारमा यस दिनलाई ‘विश्वकर्मा जयन्ती’का रूपमा समेत मनाइन्छ।
विश्वकर्मा पूजाका अवसरमा देशभरका उद्योग, कलकारखाना, वर्कसप, ग्यारेज तथा व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, प्राविधिक, शिल्पकार र उद्यमीहरूले आफ्ना मेसिनरी औजार तथा सवारीसाधनको सरसफाइ गरी विधिपूर्वक पूजाअर्चना गरिरहेका छन्।
पौराणिक मान्यताअनुसार विश्वकर्मालाई संसारकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ। सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लङ्का, द्वापरयुगको द्वारिकापुरी तथा कलियुगको जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण उनैले गरेको धार्मिक विश्वास छ। ऋग्वेदका ११ वटा ऋचामा समेत विश्वकर्माको महिमा वर्णन गरिएको पाइन्छ। आजका दिन आफ्ना कार्यस्थलका यन्त्र-उपकरणको पूजा गर्दा काममा सफलता मिल्ने र दुर्घटनाबाट जोगिने जनविश्वास रहिआएको छ।




