बर्दिया । बर्दियाको पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको एक विद्युतीय (ईभी) हाइस गाडीमा आइतबार बिहान अचानक आगलागी भएको छ। कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक सडकमा गुडिरहेको अवस्थामा गाडीमा एक्कासि आगो सल्किएको थियो।
आगलागी हुँदा गाडीमा धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३८ वर्षीय चालक नरेन्द्र नेगी र सहचालक मात्र सवार रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। आगलागीबाट गाडीका सम्पूर्ण कागजात तथा नगद ४२ हजार रुपियाँ जलेर नष्ट भएको छ। घटनालगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको बारुणयन्त्र (दमकल) को सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट महेन्द्र राजमार्गको सवारी आवागमनमा कुनै अवरोध नभएको र यातायात नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।




