भदौमा विद्युत् निर्यातबाट पाँच अर्ब नौ करोड रुपियाँ आम्दानी

प्रकाशित मिति:

काठमाडौँ । नेपालले भदौ महिनामा मात्रै विद्युत् निर्यात गरेर पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरी पाँच अर्ब नौ करोड २४ लाख ६१ हजार २८२ रुपियाँ आम्दानी भएको हो।

प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडिसी) स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतका हरियाणा र बिहार राज्य तथा बङ्गलादेशमा ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरी तीन अर्ब ६४ करोड २५ लाख रुपियाँ आम्दानी भएको छ। यस्तै भारतीय प्रतिस्पर्धी विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट बिक्रीबाट एक अर्ब ४४ करोड ९९ लाख रुपियाँ आर्जन भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशीको बाढीका कारण राष्ट्रिय प्रणालीको करिब १० प्रतिशत उत्पादन क्षमता बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत निर्यात व्यापारमा सुधार आएको बताएका छन्। गत आर्थिक वर्षको भदौको तुलनामा यस पटक विद्युत् निर्यातबाट हुने आम्दानी ३८ करोड २७ लाख रुपियाँभन्दा बढीले वृद्धि भएको उनले जानकारी दिए। हाल बाढीले क्षतिग्रस्त संरचनाका कारण बङ्गलादेशतर्फको निर्यात रोकिए पनि अन्य जलविद्युत् आयोजनाबाट पुनः सुचारु गर्न भारतीय पक्षसँग आवश्यक प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।

ताजा समाचार