काठमाडौं । बङ्गालको खाडीको मध्य भूभाग आसपास विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यस मौसमी प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रहरूमा बढी केन्द्रित हुने देखिएको छ।
यस प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको दाङदेखि पूर्व नवलपुरसम्मको क्षेत्र बढी प्रभावित हुनेछ। त्यस्तै, कर्णाली प्रदेशको पूर्वी भूभाग तथा सुदूरपश्चिम प्रदेशका दक्षिणी पहाडी जिल्लाहरू र तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेशको चितवन र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुनसक्ने आकलन गरिएको छ। साथै, यसअघि नै बाढीपहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि थप क्षति निम्त्याउन सक्ने जोखिम रहेको मौसमविद् अर्यालले बताउनुभयो। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्तिअनुसार यस वर्ष मनसुन केही दिन पछाडि धकेलिने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




