त्रिपुरेश्वर बस आगलागी : घाइते चालक दोङको मृत्यु, न्याय माग्दै अस्पतालअगाडि आफन्तद्वारा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित बस बिसौनीमा ऋद्धिसिद्धि यातायातको बसभित्रै आफैँमाथि आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ।

यसअघि फेला परेको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले चालक दावा लामा भएको बताए पनि वास्तविक व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका करिब २२ वर्षीय अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको हो। लाइसेन्सवाला दावा लामा सकुशल रहेको र दोङले विगतदेखि नै उनको परिचयपत्र तथा कागजात अनधिकृत रूपमा प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चालक दोङको मृत्युको खबर सार्वजनिक भएलगत्तै उनका परिवारजन, आफन्त तथा यातायात व्यवसायीहरूले घटनाको सत्यतथ्य छानबिन र उचित न्यायको माग गर्दै कीर्तिपुर अस्पतालअगाडि सडकमा प्रदर्शन गरेका छन्। मृतकका दुई श्रीमती र एक नाबालक छोरा छन्। निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले हालसम्म शव बुझ्न मानेका छैनन्। घटनाको कारण र पृष्ठभूमिका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार