काठमाडौं । भारी वर्षा र पहिरोको उच्च जोखिमका कारण नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म लामो दूरीको र रात्रीकालीन यात्रा नगर्न सर्वसाधारणमा आह्वान गरेको छ। मौसम पूर्वानुमान महाशाखाको चेतावनीपछि महासंघले एक विज्ञप्ति जारी गर्दै यात्रा गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ।
देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा र नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले अत्यावश्यक बाहेकका अवस्थामा यात्राबाट टाढा रहन सुझाव दिइएको छ। यसअघि नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विभागले पनि तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिसकेका छन्।




