अछाम । नेपाली कांग्रेस अछाममा क्षेत्र नं. १ का सभापति कृष्णबहादुर बुढा र क्षेत्र नं. १ प्रदेशसभा ‘क’ का सभापति महेश खड्काको पद खोसिएको छ ।
जिल्ला सभापति पुष्पबहादुर शाहले निवर्तमान सभापती शेर बहादुर देउवा पक्षमा उभिएका कारण बुढा र खड्कालाई जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
बुढाको ठाउँमा गणेश खड्का र खड्काको ठाउँमा संगिता कुँवर केसीलाई कार्यवाहक जिम्मेवारी दिइएको छ । पद खोसिएपछि खड्काले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफूहरू जन्मजात कांग्रेसको विचारमा हुर्किएको बताएका छन् ।
उनले “रुख चिन्हप्रतिको हाम्रो निष्ठा अवसरसँग बदलिँदैन” भन्दै पद पाए मात्र रुखमा भोट हाल्ने र नपाए आफ्नै उम्मेदवार हराउने प्रवृत्ति आफ्नो नभएको उल्लेख गरेका छन् । उनले “सिद्धान्त, संगठन र प्रतिबद्धतामाथि अडिग रहनेहरू नै वास्तविक कार्यकर्ता हुन्” भनेका छन् ।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नेतृत्व र शक्ति समीकरणको विवाद चलिरहेका बेला अछाममा दुई सभापतिको पद खोसिनु र त्यसपछि खड्काको यस्तो अभिव्यक्ति सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जिल्ला नेतृत्वले भने दुवैलाई जिम्मेवारीबाट मुक्त गर्नुको औपचारिक कारण सार्वजनिक गरेको छैन । अछामका नेता कार्यकर्ताहरु अहिले देउवा समुहमा खुलेका नेता कार्यकर्ता सबैलाई कारवाही गरेर देखाउन भन्दै गगन नेतृत्वको कांग्रेसलाई देउवा समुहमा खुलेका नेता कार्यकर्ता नचाहिएको हो ? भन्दै प्रश्न गरिरहेका छन् ।




