ललितपुर। लगातारको वर्षाका कारण भिरालो जमिन भासिँदा ललितपुर महानगरपालिका–२४, धापाखेलमा सोमबार बिहान एक साढे दुई तले पक्की घर ढलेको छ। समयमै परिवारलाई सुरक्षित स्थानमा सारिएकाले कुनै मानवीय क्षति भने हुन पाएन।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार स्थानीय सोबितकुमार थापाको साढे दुई तले घर सोमबार बिहान ६:३५ बजे जमिन भासिएर एकाएक ढलेको हो। यसअघि आइतबार दिउँसो करिब १:४० बजे घरसँगै ट्रस्टले बनेको भान्साकोठा (किचन) करिब २० मिटर तल खसेको थियो।
भान्सा खसेपछि साढे दुई तले पक्की घरसमेत पहिरोको उच्च जोखिममा परेको थियो। तत्कालै पुगेको प्रहरी टोलीको सुझाव अनुसार थापाको तीन जनाको परिवार आइतबार नै घर छाडेर आफन्तकोमा सरेको थियो। परिवार सुरक्षित स्थानमा गइसकेकाले सोमबार बिहान सिङ्गो घर पहिरोमा खस्दा पनि मानवीय क्षति हुन नपाएको ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
घर ढल्दा सोही स्थानमा रहेको सानो खोल्चा केही समय थुनिए पनि हाल कुनै थप जोखिम नरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण जमिन गल्दै गएर भिरालो भागमा रहेको घर भासिएको प्रारम्भिक अनुमान गरिएको छ।




