कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–९, पिपरियास्थित जानकी सामुदायिक वन क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारको संयुक्त टोलीले सोमबार राति सु.प.प्र.०१–००९ प ९८०३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ बस्ने चौँतिस वर्षीय अनिल राना र बाईस वर्षीय हरि राम रानाको साथबाट सात ग्राम एक सय नब्बे मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, जिल्लाको बेलडाँडी गाउँपालिका–३, बलराम टोलबाट पनि प्रहरीले लागुऔषधसहित अर्का एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आइरहेका बेलौरी नगरपालिका–९, अण्डैया बस्ने छब्बीस वर्षीय दिनेश डगौरालाई शङ्का लागेर जाँच गर्दा दुई ग्राम छ सय सत्तरी मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको हो। प्रहरी चौकी झिलमिलाबाट खटिएको गस्ती टोलीले सोमबार राति उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार