प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत, समितिको प्रतिवेदन पनि पेस

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत भएका छन् भने एउटा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्। विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत दक्ष, सक्षम र जिम्मेवार स्वदेशी तथा विदेशी जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारिन्। नेपालको भू–राजनीतिक संवेदनशीलता र विश्वमा देखापरेका बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न देशमै सैनिक तथा गैर–सैनिक अधिकारीहरूलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने लक्ष्य विश्वविद्यालयको रहने उनको भनाइ थियो।

यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गरेकी छन्। यी विधेयकहरू प्रस्तुत भएसँगै संसद्‌मा दफावार छलफल र पारितको प्रक्रिया अघि बढ्नेछ।

ताजा समाचार