उपेश सिंह धामी
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर भित्र सञ्चालित ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्कुल बस हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधबार एक औपचारिक कार्यक्रम आयोजना गरी सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई बसको चाबी हस्तान्तरण गरेको हो।
नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, उदय माध्यमिक विद्यालय बंक, नन्द माध्यमिक विद्यालय देखतभुली, कृष्ण माध्यमिक विद्यालय गुलरिया, महाकाली माध्यमिक विद्यालय र वीणा माध्यमिक विद्यालय विचुवालाई बस उपलब्ध गराइएको हो।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवतजावतमा सहज बनाउने तथा नियमित उपस्थिति बढाउने उद्देश्यले बस खरिद गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी टाढा र भित्री बस्तीहरूबाट विद्यालय धाउनुपर्ने बालबालिकाहरूको समस्या र दुरीलाई मध्यनजर गर्दै यो निर्णय लिइएको नगर प्रमुख ओझाले बताउनुभयो। उहाँले विद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न सक्ने सुनिश्चितता गरेपछि मात्रै बस हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो।
“बदलिँदो समयसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न जरुरी छ,” नगरप्रमुख ओझाले भन्नुभयो, “टाढाबाट आउने बालबालिकाहरूलाई बाटोको कठिनाइ नहोस् र उनीहरू समयमै सुरक्षित रूपमा विद्यालय पुग्न सकून् भनेर नगरपालिकाले बसको प्रबन्ध गरेको हो।”
नगरपालिकाको गत आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यी बसहरू खरिद गरिएका हुन्। ५० सिट क्षमता, २०२६ मोडेल तथा ३२०० सीसीका टाटा कम्पनीका ती बसहरू सिपर्दी ट्रेडिङ्ग प्रा.लि. मार्फत खरिद गरिएको हो। बस खरिदका लागि टाटा, अशोक लेल्याण्ड र आइसर कम्पनीबिच प्रतिस्पर्धा भएको थियो। प्रतिबस ५४ लाख रुपैयाँ लागत अनुमान गरिए तापनि बिडिङमार्फत प्रतिबस ४५ लाख ४५ हजार रुपैयाँमा खरिद सम्झौता भएको बताइएको छ।
बस हस्तान्तरण कार्यक्रममा नगर प्रमुख ओझा सहित उप-प्रमुख द्रोपती राना, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यालयमै यातायातको सुविधा उपलब्ध भएपछि ग्रामीण तथा टाढाका बस्तीबाट आउने विद्यार्थीहरू लाभान्वित हुने र विद्यालय छोड्ने दरमा समेत कमी आउने विश्वास लिइएको छ।




