विराटनगर । नेपाली कांग्रेसको मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार दुई पक्षबीच झडप भएको छ। सुन्दरहरैँचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता विवाद चुलिँदा तोडफोड र कुटपिट भएपछि कार्यक्रम उद्घाटन नै नहुँदै बिथोलिएको छ।
बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यसूची तय भएको थियो। तर अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट समूहले मञ्च तथा कुर्सी तोडफोड गर्दै आक्रमण सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि हातपात भएको छ। यस्तै, क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
मोरङ क्षेत्र नम्बर ६ डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। संस्थापन पक्षले कोइरालानिकट समूहले नियोजित रूपमा अधिवेशन बिथोलेको आरोप लगाएको छ। यसअघि क्षेत्रीय सभापति रहेका कोइरालानिकट देवराज तामाङले पार्टी केन्द्रलाई असहयोग गरेको भन्दै पूर्वसांसद तबदारलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको थियो। यता तामाङले भने आफूनिकट कार्यकर्ताले आक्रमण गरेको आरोप अस्वीकार गर्दै वडा तहमा क्रियाशील सदस्यता वितरण र अनलाइन फाराम भर्ने क्रममा देखिएको असन्तुष्टिका कारण विवाद भएको दाबी गरेका छन्।
घटनापछि स्थगित बनेको अधिवेशनलाई सुचारु गर्न र विकसित परिस्थितिलाई साम्य पार्न आन्तरिक छलफल तथा सहमतिको प्रयास भइरहेको कांग्रेस नेता रमेशजंग रायमाझीले जानकारी दिएका छन्।




