काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा करिब आठ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेका हुन्। मन्त्री तिमिल्सिनाका अनुसार रसुवा, नुवाकोट र धादिङमा रहेका कुल एक सय २० साइटमध्ये ८३ वटा साइटको सेवा बाढीका कारण पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको थियो।
तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीनवटा साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती साइटहरू तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर जडान गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको छ। विकट क्षेत्र मानिएको टिमुरेको टावरमा यसै साता नेपाली सेनाको हेलिकप्टरमार्फत सोलार प्यानल पुर्याएर सेवा पुनः सञ्चालनमा ल्याइएको मन्त्रीले सदनलाई जानकारी दिए।
यस्तै, ती तीन जिल्लामा रहेको कुल ६५ दशमलव तीन किलोमिटर अप्टिकल फाइबर नेटवर्कमध्ये ३७ दशमलव नौ किलोमिटर बाढीले बगाएकोमा २७ दशमलव चार किलोमिटर मर्मत सम्पन्न भइसकेको छ। टिमुरे र रसुवागढी क्षेत्रमा फाइबरमा क्षति पुगेपछि हाल माइक्रोवेभ प्रविधिमार्फत ब्याकबोन प्रसारण सेवा सुचारु गरिएको छ।




